विद्यालयको इतिहास

यस श्री आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको दूर दराजमा रहेको साबिक आलमदेवी गा.वि.स. हाल कालीगण्डकी गाउँपालिका वडा नं. २ मा उत्तर हिले प्रभुको तपोभूमि हिले पर्वत, दक्षिण आलमदेवी मन्दिर, पश्चिम भृगुु ऋषिको तपोभूमि र पूर्व शालिकराम क्षेत्रको मध्य भागमा अवस्थित छ । २००७ सालपछि देशमा शिक्षाको विकास आवश्यकता महशुस गरिए पनि स्याङ्जा जिल्लाको पश्चिमी भेग आर्थिक दृष्टिले निम्न तथा मध्यम वर्गीय समाजको बाहुल्यता रहेको यस क्षेत्रमा अलि ढिलो शिक्षाको सन्देश पुगेको देखिन्छ ।

कालीगण्डकी गाँउपालिका वार्ड नं. २, साबिक आलमदेवी गा.वि.स. लसर्घाबेसीमा लामाे समय देखी ‍औपचारिक शिक्षाकाे रुपमा प्राथमिक तह सञ्चालन हुदै आएकाेमा नेपालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना (नयाँ शिक्षा) २०२८ (पञ्चवर्षीय २०२८–०३२) लागु भई स्याङ्जामा तेस्रो चरण अर्थात २०३० सालमा नयाँ शिक्षा लागु भएपछि मिति २०३०-१०-०७ मा नि.मा.वि.तह स्वीकृत भएपछि २०३० सालमा नै विद्यालयको नाम आदर्श नि.मा.वि. राखिएको थियो । नि.मा.वि.भइसकेपछि लसर्घा र कोटाकोटले सम्झौता गरी दुबै गाउँको बीचमा हालको यसै ठाउँमा भवन बनाउँने निधो गरी मिति २०३१ साल पौष महिनाकाे २७ गते भवनको शिलान्यास गरिएकोले हरेक वर्ष पौष २७ गते यस विद्यालयको वार्षिक उत्सव मनाउँदै आइएको छ ।

१०४ हात लम्बाई, १३ हात चौडाई र १३ हात उचाईमा बनेको २ तले भवनमा २०३२ सालदेखि औपचारिक कक्षा संचालन हुँदै आएको थियो । तत्कालिन श्री ५ महाराजाधिराज २०३४ सालमा आफ्ना कुल देवता आलमदेवी मन्दिरको दर्शनको क्रममा आउँदा यहाँका स्थानीय शिक्षाप्रेमीहरुले मा.वि.तह (कक्षा ८–१०) संचालनका लागि विन्तीपत्र चढाउँनु भएको र त्यसै बमोजिम सोही दिन श्री ५ को सरकारबाट हुकुम बक्सेकोले २०३४ साललाई यस विद्यालयको स्थापना मिति मानिदैं आइएको छ ।

मिति २०३५-०१-०७ मा.वि.तहको औपचारिक स्वीकृति पाएसंगैं नियमित कक्षाहरु संचालन भएको र पहिलो पटक वि.स.२०३७ सालमा यस विद्यालयबाट एस.एल.सी.मा सम्मिलित भएका थिए । २०३९ साल भदौ २० गते यस स्थानबाट प्रा.वि.तह छुट्याई पुन लसर्घाबेसीमा छुट्टै प्रशासनबाट संचालन गरिएको र सोही वर्षदेखि यस स्थानमा नि.मा.वि.र माध्यमिक तहका कक्षाहरु संचालन भैरहेका छन् । यसैगरी २०६२-०२-३१ मा उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त पश्चात कक्षा ११ र १२ संचालन हुँदै आएको छ । हाल कक्षा ६–१२ संचालित यस विद्यालयमा मा.वि. ६, उच्च मा.वि. २, नि.मा.वि. ४, गरी १२ वटा शिक्षक दरबन्दी र कर्मचारी २ गरी कूल जम्मा १४ जना शिक्षक कर्मचारीहरु कार्यरत हुनुहुन्छ भने करिव १७५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यस विद्यालयलाई शैक्षिक, भौतिक, आर्थिक, सामाजिक हिसावले आजको यो अवस्थासम्म ल्याउँनका लागि महत्वपूर्ण योगदान दिनुहुने सबै सबै महानुभावहरुप्रति विद्यालय परिवार उच्च सम्मान व्यक्त गर्दछ ।